देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिलो पटक मानिसबाट जनावरमा सर्‍यो कोरोना भाइरस, न्यू योर्कमा बाघ संक्रमित

देशान्तर

काठमाडौं । मानिसबाट सरेको कोरोना भाइरसले पहिलो पटक जनावर विरामी परेको छ। कोरोना भाइरस संक्रमणबाट सबैभन्दा प्रभावित न्यू योर्क सिटी ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार संक्रमणका कारण आफ्नो एक बाघलाई कोभिड-१९ भएको बताएका हुन्।

सो चिडियाखानामा रहेको ४ वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। नादियासहित चिडियाखानाका अन्य तीन बाघ र तीन सिंहमा सुख्खा खोकी विकसित भएपछि उनीहरूमध्ये सबैभन्दा बिरामी नादियाको कोभिड-१९ परीक्षण गरिएको थियो।

कोभिड-१९ गराउने यो भाइरस जनावरबाट मानिसमा सरेको अनुमान गरिदैं आइएको थियो र यसअघि हंगकंगका केही जनावरहरूको परीक्षण नतिजा ‘पोजेटिभ’ आएको थियो।

संक्रमणको कुनै लक्षण नदेखिएका सो चिडियाखानाका कर्मचारीको सम्पर्कमा आएपछि नादिया बिरामी परेकाले यो एउटा पृथक केस भएको विश्वास चिडियाखानाका प्रमुख भेटेनेरियन पल कालेले बताएका छन्। पलले कुन कर्मचारीबाट नादियालाई संक्रमण भएको हो भन्ने पत्ता नलागेको बताए।

‘मानिसबाट जनावर संक्रमित भएर बिरामी परेको संसारमा हामीलाई थाहा भएको यो नै पहिलो पटक हो’, पलले भने। विरामी परेपछि नादियाको एक्स-रे, अल्ट्रासाउण्ड र रक्त परीक्षण गरेको चिडियाखानले न्यू योर्क कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित भएकाले उनको कोरोना भाइरस परिक्षण गरेको थियो।

मध्य मार्चबाट सो चिडियाखाना बन्द छ। बाघले मार्च २७ बाट विरामीको लक्षण देखाएको नादियाको कोरोना परीक्षण गरेको अमेरिकाको राष्ट्रिय भेटनरी सेवा प्रयोगशालाले जनाएको छ।