देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महालक्ष्मी- ३ का युवाको सक्रियतामा निशुल्क भोजन कार्यक्रम

देशान्तर

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ३ का युवाहरुले लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई निशुल्क भोजनको व्यवस्था गरेका छन् । बोजेपोखरी नागरिक समाजको तर्फबाट उनीहरुले ‘दीन दुःखी भोजन दान कार्यक्रम’को आयोजना गरी लकडाउनका कारण समस्यामा परेकाहरुलाई निशुल्क भोजको प्रबन्ध गरेका हुन् ।

स्थानीय बोजे पोखरीमा दैनिक विहान ९ बजेदेखि ११ बजेसम्म खानाखान इच्छुक जोसुकै व्यक्तिलाई पनि एक छाक खानाको प्रबन्ध मिलाइएको कार्यक्रम आयोजक कमिटीका सदस्य सुमन केसीले जानकारी दिए । खाना व्यवस्थापनको लागि स्थानीय युवा जय कुमार केसीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

उक्त समितिमा रहेका युवाहरुले आवश्यक स्रोत साधनको जोहो गरी गत बुधबारदेखि भोजन कार्यक्रमको आयोजना गर्दै आएका छन् । भोजन कार्यक्रम लकडाउन अवधिभर जारी रहने केसीले जानकारी दिए ।

‘हामीले इच्छुक दाताहरु र हाम्रो आफ्नै आर्थिक तथा जिन्सी सहयोगबाट यो कार्यक्रम संचालन गरेका हौं, लकडाउनले गर्दा यस वडाका कोही पनि भोकै बस्नु नपरोस भन्ने हेतुले यहाँका युवाहरुको सक्रियतामा यो कार्यक्रम सुरु गरेका हौं’, सदस्य केसीले भने । हाल दैनिक सरदर ४ सय भन्दा बढी मानिसहरुले दैनिक एक छाक भोजन गरिरहेको र यो संख्या दिनदिनै वृद्धि भइरहेको उनले बताए ।

अझै कोही भोकै भए आफूहरुलाई सम्पर्क गर्न पनि उनले आह्वान गरेका छन् । भोजनका लागि बोजेपोखरीको चौरमा प्रबन्ध मिलाइएको छ । भाइरसको जोखिम नहोस भन्नका लागि स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड बमोजिम सम्पूर्ण सुरक्षात्मक उपायहरुको प्रबन्ध गरिएको पनि उनले बताए ।