काठमाडौं । कोरोनाभाइरस कोभिड–१९ को संक्रमणको जोखिमका कारण गरिएको लकडाउनकै बीच सोमबार राष्ट्रियसभा बैठक बसेको छ । संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बैठक भिडियो कन्फ्रेन्समार्फत बसेको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकमा अधिकांश सदस्यहरुले वर्तमान अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए । लकडाउन गरेर सरकारले राम्रो काम गरेको भन्दै सदस्यहरुले कोरोनाभाइरसको महामारी फैलिन नदिन विशेष सतर्कता अपनाउन जरुरी रहेको औंल्याए ।
कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिने चिकित्सक, नर्स, कर्मचारी साथै सुरक्षाकर्मीको सुरक्षाको विषयमा सरकार गम्भिर भएर तत्काल व्यक्तिगत सुरक्षा उपकरक पीपीई लगायत खरिद गर्नुपर्नेमा पनि सदस्यहरुले जोड दिएका थिए । त्यसैगरी नेपाल लकडाउन भएसँगै दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरहरुको अवस्थालाई विशेष ध्यान दिन आग्रह पनि उनीहरुको थियो ।
बैठकमा बोल्दै राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माले बागलुङ जिल्ला कोरोनाभाइरसको इपिसेन्टर बन्ने खतरा रहेको बताए । उनले बाग्लुङमा अहिलेसम्म तीनजनामा कोरोना पुष्टि भइसकेको र कोरोनाको जस्तै लक्षण देखिएकी एक महिलालाई अहिले क्वारेन्टाइनमा राखि टेष्टको लागि स्वाव काठमाडौं पठाइएको बताए । बागलुङलगायत अन्य क्षेत्रमा र्यापिड टेष्टलाई प्राथमिकतामा राखी तत्काल चिकित्सकसहितको टोली उक्त क्षेत्रहरुमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।





प्रतिक्रिया