देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘लकडाउन’ वैशाख १५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

देशान्तर

काठमाडौं । सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो ।

सीमानाकाहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको थियो । लकडाउनअघि नेपालमा कोरोना संक्रमितको संख्या दुईजना थियो ।

तर, कोरोनाभाइरसको जोखिम बढ्ने देखिएपछि सरकारले एक हप्ताको लागि गरेको लकडाउन बढाएर पहिलोपटक चैत २५ गतेसम्म र दोस्रोपटक थप एक हप्ता बढाएर वैशाख ३ गतेसम्म पुर्‍याएको थियो ।कोरोना महामारीको जोखिम थप बढ्ने देखेपछि सरकारले तेस्रोपटक लकडाउनको समयसीमा बढाएर वैशाख १५ गते पुर्‍याएको छ ।

अहिले नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । यस्तै, सरकारले अलपत्र परेका नागरिकलाई आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।यसअघि, सरकारले अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।