काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिका ३ का एक २७ वर्षीय यूवामा कोरोना भाइरस संक्रमण देखिएको छ गाउँपालिकास्थित मैदी स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत तार्केश्वर पटेलले भाइरस संक्रमण देखिएको पुष्टि गरे।
पटेलका अनुसार ती यूवा फागुन २० गते दक्षिण कोरियाबाट फर्किएका थिए। फर्किए लगत्तै स्थानीय सुरक्षाकर्मीले स्वास्थ्य परीक्षण गराउन सुझाव दिए पनि आफूमा कुनै किसिमको समस्या नभएको भन्दै घरमै बसेका थिए।
दक्षिण कोरियाबाट फर्किएको एक महिना दस दिनपछि आज गाउँपालिकाले कोरोना भाइरसको परीक्षणका लागि गरिएको र्यापिड टेस्टबाट उनको परीक्षण भएको हो । मैदी स्वास्थ्य चौकीमा कोरोनाको परीक्षण हुँदैछ। वडाध्यक्षले जँचाउन गरेपछि ती यूवा स्वास्थ्य चौकी पुगेका थिए ।
‘हामीले भारतबाट आएका ७ र हेटौंडाबाट आएका दुइ सहित उनी गरी जम्मा दस जनाको परीक्षण गरेका थियौं त्यसमध्ये एकमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो,’ पटेलले भने ।
गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनको स्वाब काठमाडौंस्थित टेकु अस्पताल पठाइएको र ती यूवालाई जिल्लास्थित आइसोलेसनमा राख्ने तयारी भइरहेको पनि पटेलले जानकारी दिए । कोरोना भाइरसको लक्षण नदेखिएका ती यूवालाई जिल्लासम्म लान एम्बुलेन्स चालकले नमानेको उनले बताए ।
‘सुरक्षित उपकरण नभएको भन्दै स्वास्थ्य चौकीका एम्बुलेन्स चालकले मानेका छैनन्,’ उनले भने। पूर्ण रुपमा सुरक्षित भए जान्छु नत्र जान्न भनेकाले हामी अर्को एम्बुलेन्सको तयारी गरिरहेको पटेलले जानकारी दिए।





प्रतिक्रिया