देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बोजेपोखरीका युवाहरु विपन्नलाई राहत वितरणमा सक्रिय

देशान्तर

ललितपुर । महालक्ष्मी नगरपालिकाको बोजेपोखरी नागरिक समाजले आर्थिक रुपमा कमजोर, असहाय र वृद्धहरुलाई लक्षित गरी ‘दीनदुखी भोजन दान कार्यक्रम’ अन्तर्गत घरघरमा राहत वितरण गर्दै आएको छ । लकडाउनपछि दैनिक सरदर ५ सय जना असाह्यहरुलाई दिनको एक छाक भोजन खुवाउँदै आएको समाजले कोरोनाको जोखिम बढेपछि राहत सामग्री वितरणको योजनालाई अघि सारेको हो । दैनिक रुपमा करिब ३० देखि ४० परिवारलाई परिवारसंख्याको आधारमा १० केजी चामल, दाल, तेल, नुन, मसला, तरकारीलगायतको सामग्री वितरण गर्दै आएको कार्यक्रमका संयोजक जय केसीले जानकारी दिए ।

जागरुक युवाहरु संगठित भई अहिलेको असहज परिस्थितिमा स्वतःस्फूर्त सहयोग गर्ने मान्यताले चैत्र २६ देखि दैनिक करिब ५ सय व्यक्तिहरुलाई भोजन गराउँदै आएको यस समाजले बैशाख २ सम्म सोही बमोजिमको कार्यक्रमलाई निरन्तरता दिएको थियो । भाइरस संक्रमितको संख्या वृद्धिसँगै जोखिम बढेपछि अहिले भने थप सतर्कता अपनाउँदै दीनदुखीहरुको घरैमा आफ्नै सवारीबाट खाद्यसामाग्री उपलब्ध गराउन यो समाज लागिपरेको कार्यक्रम संचालक सदस्य सुमन केसीले बताए ।

समाजले राहत सामग्री वितरणसँगै कोरोना भाइरसबारे जनचेतना अभिवृद्धी गर्ने तथा लकडाउनलाई पूर्ण रुपमा लागु गर्ने कार्यमा पनि युवाहरुलाई सक्रिय बनाउँदै आएको छ । राहत वितरण कार्य सहज हुन सकोस् भन्ने मान्यताले अहिले दाताहरुबाट उपलब्ध भएको रकम पारदर्शी तवरले खर्च भइरहेको समेत आयोजक समिति सदस्य सुनिल मास्लले बताए ।

संकटको घडीमा असहायलाई खाना खुवाउने कार्य सञ्चालन गर्दा सामाजिक दूरी र आवश्यक सुरक्षा विधि अपनाइएको समेत उनले बताए । हाल बोजेपोखरी नागरिक समाजको तर्फबाट कार्यक्रमको संयोजन जय कुमार केसीले गरेका छन् । यस कार्यक्रमलाई प्रभावकारी बनाउन ४० जना स्वयमसेवक परिचालन गरिएको छ ।

महालक्ष्मी वडा नं. ३ का युवाहरुको पहलमा हाल कोरोना भाइरसबारे जनचेतना जगाउने उद्देश्यले दैनिक रुपमा माइकिङ भने गर्ने भइरहेको संयोजक केसीले बताए । अत्यावश्यक सामान किन्न निस्केका सर्वसाधरणहरु पनि पसलमा सँगसँगै सामान किनिरहेका देखिएको भन्दै समाजले माइकिङमार्फत सामाजिक दूरी कायम गरेर सामान किन्न आग्रह गर्ने र कोरोनाका बारेमा सचेतना फैलाउने कार्य गरिरहेको छ । युवाहरुको यो अभियानलाई वडावासी तथा दाताहरुले सहयोग गर्दै आएको समाजका सदस्य दिनेश सुवेदीले बताए । उनले भने– ‘काठमाडौंमै कोरोना संक्रमित देखिएपछि हामीले खान खुवाउने कार्य बन्द गरेका छौं । तर, कोही अप्ठेरोमा परेर खाना नै खान पाउनु भएको छैन भने हामी सुरक्षित रुपमा घरमा नै खाना पुर्याउने व्यवस्था मिलाउँछौं । त्यसका लागि हामीलाई सम्पर्क गर्नुपर्ने हुन्छ ।’ उनले कसैल खाना खान नै नपाएको अवस्था भएमा फोन गर्न आग्रह समेत गरेका छन् ।

‘हामीले इच्छुक दाताहरु र हाम्रो आफ्नै आर्थिक तथा जिन्सी सहयोगबाट यो कार्यक्रम संचालन गरेका हौं, लकडाउनले गर्दा यस वडाका कोही पनि भोकै बस्नु नपरोस् भन्ने हेतुले यहाँका युवाहरुको सक्रियतामा यो कार्यक्रम सुरु गरेका हौं’, अर्का सदस्य केसीले भने। सम्पर्क गर्नेहरुलाई राहत सामग्री घरमै पुर्‍याउने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।