काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेको छ ।कोरोना भाइरस नियन्त्रणपछि नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभावका विषयमा पार्टी पदाधिकारी, अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग कांग्रेसले छलफल गरेको हो ।
कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्ने प्रभाव, कृषि क्षेत्र र औद्योगिक क्षेत्रको उत्पादनमा आउने कमिले पर्ने असरका विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कोरोनाको विश्वव्यापी असरका कारण विदेशमा रहेका नेपालीहरुको रोजगारी गुम्न सक्ने खतरा र त्यसले नेपाली रेमिट्यान्समा पार्ने प्रभावका विषयमा पनि छलफल भएको उनले बताए ।
लकडाउनका कारण अर्थतन्त्रमा परेको असर न्यूनिकरण गर्न सरकारको भूमिकामाथि विज्ञले प्रश्न उठाएका थिए । उनीहरुले लकडाउन लम्ब्याउन मात्रै सरकार केन्द्रित भएको भन्दै अर्थतन्त्र जोगाउन कुनै भूमिका नखेलेको दाबी गरेका छन् ।
अहिले सरकारले उपलब्ध गराएको राहत, त्यसको व्यवहारिकताका विषयमा पनि छलफल भएको छ । यस्तै प्रतिपक्षी दलले राहत वितरणमा कसरी सहजिकरण गर्न सक्छ र सरकार कसरी अगाडी बढ्दा उचित हुन्छ भन्ने विषयमा पनि छलफल भएको प्रवक्ता शर्माले बताए । कांग्रेसले कोरोना महामारीको विषम् परिस्थितिमा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेको छ ।
पार्टीका पूर्वस्वास्थ्यमन्त्री र चिकित्सकहरुसँग छलफल गरेको थियो । बुधबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।





प्रतिक्रिया