देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगनको टिप्पणी- जो चोर उसकै ठूलो स्वर?

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीको धम्कीबाट कोही पनि नतर्सने बताएका छन् ।

आज (शुक्रबार) सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो बताएका हुन् । नेता थापाले कारोनाको महामारीका बेला प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थका लागि अनेक खेल खेलेको समेत आरोप लगाएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्– ‘महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थिति बिगार्ने तपाईं। गर्नुपर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं । अनि धम्की ती खबरदारी गर्नेहरूलाई ? जो चोर उसैको ठूलो स्वर। कोही तर्सनेवाला छैन यो धम्कीबाट ।’

शुक्रबार अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा प्रधानमन्त्रीले भिडियो सन्देश जारी गर्दै नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको ओलीले आरोप लगाएका थिए। उनले यस्ता प्रयासलाई सफल हुन नदिने चेतावनी समेत दिएका थिए।

‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो,’ उनले भनेका छन्– ‘आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन ।’