नेकपाको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट सिर्जित सत्ता संकट तत्कालका लागि टरेको छ । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेसँगै प्रधानमन्त्री बन्ने गौतमको सम्भावना एक कदम अघि बढेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने सम्भावना पनि तत्कालका लागि सकिएको छ ।
गत बुधबार साँझको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्ताव विधिवत् रूपमा अनुमोदन गर्दै शनिबार साँझको सचिवालय बैठकले उनलाई ‘उपयुक्त समय’ मा प्रतिनिधिसभा उम्मेदवार बनाउने माइन्युट गरेको हो । यद्यपि त्यो ‘उपयुक्त समय’ कहिले हो र कहाँबाट जिताएर ल्याउने भन्नेबारेमा नेताहरूले मुख खोलिसकेका छैनन् ।
प्रधानमन्त्री ओलीले सरकार सञ्चालनका काममा भएका कमजोरीप्रति आत्मआलोचना गरेपछि यसअघि उनको राजीनामा माग्ने अध्यक्ष पुष्पकमल दाहाल पछि हटेका हुन् । अध्यक्षद्वयको यो गठजोडमा वरिष्ठ नेता माधव नेपाल भने केही सशंकित छन् ।
सचिवालय बैठकले गौतमलाई प्रतिनिधिसभाको कुनै स्थान खाली गराएर उपचुनावमार्फत संसद्मा भित्र्याउने निर्णय गरेको छ । यसका लागि कुन स्थान कहिले, कसरी खाली गर्ने भन्ने ठोस खाका आइसकेको छैन । आउँदो २४ गते बस्ने केन्द्रीय सचिवालयले तयार गर्ने प्रस्ताव र २५ गतेबाट सुरु हुने स्थायी कमिटीको बैठकबाट यसबारे थप स्पष्ट हुने नेताहरूले जनाएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएका कमीकमजोरी सच्याउने प्रतिबद्धता जनाएको र अब आइन्दा पार्टीको नीतिअनुसारै सरकार सञ्चालन गर्ने बताएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटी बैठकका लागि सरकार सञ्चालन र पार्टी सञ्चालनमा भएका कमजोरीबारे सबै नेताले आत्मआलोचनासहितको प्रतिवेदन लैजाने भएका छन् । कान्तिपुरमा खबर छ।





प्रतिक्रिया