गृह मन्त्रालयले लकडाउन घोषणापछि देशभरका जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित जिल्लाभित्र आवागमनका लागि जारी गरिएका अस्थायी सवारी पास खारेज गरेको छ । शनिबारदेखि लागू हुने गरी यसअघि जारी भएका सबै पास खारेज हुने गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।
सवारी पास दुरुपयोग बढेकाले पछिल्लो निर्णय लिनुपरेको अधिकारीको भनाइ छ । चैत ११ बाट लकडाउन घोषणा भएयता ७७ वटै प्रशासन कार्यालयबाट अत्यावश्यक सेवाका लागि सवारी पास जारी हुँदै आएको थियो । गएको सोमबार नै गृहले एक जिल्लाबाट अर्को जिल्लामा जाने पास खारेज गर्दै अत्यावश्यक काम परे गृहको अनुमतिमा मात्रै लिने व्यवस्था गर्न परिपत्र गरेको थियो ।
यसैबीच, उपत्यकास्थित तीन वटै जिल्ला प्रशासन कार्यालयले राजधानी प्रवेश गर्ने सबै नाकामा नेपाली सेना खटाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिसमक्ष सिफारिस गरेका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा चार वटै सुरक्षा निकायका जिल्ला प्रमुखसहितको संयुक्त बैठकले उपत्यकाभित्र कोरोना भाइरस संक्रमणका बिरामी भेटिएपछि बाहिरबाट आउने मानिसलाई प्रवेश रोक्न नाकामा सेनासहितको सुरक्षा व्यवस्थापन मिलाउन सिफारिस गरेको हो ।
यसअघि वैशाख २३ मा गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट भारतसँग सीमा जोडिएका जिल्ला प्रशासनलाई पत्र लेखी सीमाबाट नेपालतर्फ ५ किलोमिटर क्षेत्रभित्र सेना परिचालन गर्न निर्देशन दिनुभएको थियो । त्यसको एक सातापछि उपत्यकास्थित प्रशासन कार्यालयले पनि राजधानी प्रवेश गर्ने नाका सिल गर्न सेनाको सहयोग मागेका हुन् । कोरोना संक्रमणको जोखिम रहेका जिल्लाबाट प्रहरी र सशस्त्र प्रहरीलाई छल्दै नाकाबाट मानिस प्रवेश गर्न थालेपछि थप कडाइ गर्न नयाँ कदम चाल्न थालिएको जनाइएको छ ।





प्रतिक्रिया