देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जेठ २० सम्म लकडाउन थप

देशान्तर

काठमाडौं । सरकारले लकडाउन आगामी २० गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले १५ दिनका लागि बन्दाबन्दी जारी राख्ने निर्णय भएको बताए ।

मन्त्री खतिवडाले सरकारले कोरोना रोकथामका लागि बन्दाबन्दी जारी राखे पनि सँगसँगै आर्थिक गतिविधि अघि बढाउनुपर्ने बाध्यता रहेको बताए । आजको बैठकमा बन्दाबन्दीको ‘मोडालिटी’ परिवर्तनको सम्बन्धमा पनि छलफल भएको उनले बताए । उनले सरकारले यसअघि गरेको निर्णयका आधारमा कृषि, उद्योग, निर्माणलगायतलाई निरन्तरता दिइने पनि बताए । सरकारका प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री डा खतिवडाले भने, “साना ठूला आयोजनाको निर्माण भइरहेकामा त्यसलाई निरन्तरता दिइनेछ ।”

बैठकमा अहिले क्वारेन्टिनमा बसिरहेकालाई कसरी उत्पादनसँग जोड्ने भन्ने विषयमा छलफल भएको मन्त्री खतिवडाले बताए । उनीहरुको सुरक्षा अपनाएर कसरी आफ्नै गाउँमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । बैठकमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि जडीबुटीजन्य र औषधिजन्य वस्तुको उपयोग बढाउनुपर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

सीमावर्ती क्षेत्रमा बसिरहेका नागरिकका विषयमा पनि छलफल भएको थियो । क्वारेन्टाइनको क्षमता विस्तार गर्ने र एउटा प्रयोजनका लागि पास लिएका सवारीसाधन अर्को प्रयोजनका लागि प्रयोग हुन नदिने विषयमा पनि छलफल भएको थियो । उनले भने, “एम्बुलेन्सले बिरामी बाहेकका अरू बोकिरहेको र खाद्यान्न ढुवानी गर्ने सवारी पनि अरू काममा प्रयोग भएका विषयमा पनि छलफल भएको छ ।”

यसअघि आज दिउँसो बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी (लकडाउन)को समय थप गर्न सरकारलाई सिफारिस गरेको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उक्त समितिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले वर्तमान अवस्थामा बन्दाबन्दी नै प्रभावकारी माध्यम भएकाले यसलाई बढाउनुपर्ने निष्कर्षसहित सरकारलाई सिफारिस गरेको थियो ।