काठमाण्डौ । कोरोना भाइरस (कोभिड-१९)का कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न छलफल सुरु गरेको हो ।
विदेशमा अलपत्र परेका नेपालीहरु र क्वरेन्टीनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजना तयार गर्न मंगलबार समितिको बैठक सिंहदरबारमा बसेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै समितिका सचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले भारत तथा तेस्रो देशमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको बताए ।
समितिको बैठकमा सातवटै प्रदेशसँग समन्वय गर्ने संघीय मन्त्रीहरुलगायतको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न लागिएको बताए । समितिको बैठकमा प्रदेश र पालिकामा बनेका क्वरेन्टीनहरुलाई तोकिएको मापदण्डअनुसार व्यवस्थित गर्ने विषयमासमेत छलफल भएको सचिव विडारीले बताए ।





प्रतिक्रिया