देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुस्लिम समुदायले आज इद उल फित्र मनाउँदै, लकडाउनका कारण नमाज भने घरघरमै पढिने

देशान्तर

अरबी पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन आज देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् ।

दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने चलन छ ।

यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनका कारण मस्जिदहरुमा विशेष नमाज पाठमा पाँच जनाभन्दा बढी उपस्थित नहुने जनाइएको छ ।

मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा बढीमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि धेरै मुसलानले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाउँदैछन् ।

नमाज पढेपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ । ठूलाबडाकहाँ आशीर्वाद लिँदा पनि लकडाउनको नियम नतोडन नेपाल मुस्लिम आयोगले आब्हान गरेको छ ।

घरमै रहेका ठूलाबडासँग आशीर्वाद लिई घर बाहिरकासँग फोन, सामाजिक सञ्जालमार्फत पनि लिन मुस्लिम अगुवाहरुले सुझाव दिएका छन् ।

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

यस पर्वमा मुसलमान धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरानमा उल्लेख छ ।

यसवर्ष गत वैशाख १३ गतेदेखि मुसलमान समुदायको एक महिना लामो रोजा शुरु भएको थियो ।