देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतबाट दैलेखमा ४२ हजार भित्रिने आंकलन

देशान्तर

कामको सिलसिलामा भारत गएकामध्ये ४२ हजार नेपाली नागरिक दैलेख भित्रिने आकलन गरिएको छ । सोमबारसम्म पाँच हजार एक सय ७३ जना जिल्ला भित्रिसकेका छन् ।जिल्ला प्रशासन कार्यालय दैलेखले सो संख्याको आकलन गर्दै सबैलाई सुरक्षित क्वारेन्टाइनमा राख्न पूर्वतयारी थाल्न स्थानीय तहलाई आग्रह गरेको छ ।

हरेक स्थानीय तहले सामाजिक सञ्जालमार्फत आफ्ना नागरिकलाई नेपाल आउन आग्रहसमेत गरेपछि दैलेख भित्रिनेको संख्या दैनिक एक हजारले वृद्धि भएको छ ।

भारतबाट फर्किएकामध्ये आठजनामा कोरोना संक्रमण देखिएपछि दैलेखमा स्वास्थ्य सुरक्षा चुनौती बढेको छ । आएकामध्ये कसैको पनि कोरोना चेकजाँच नभएकाले दैलेख कोरोनाको उच्च जोखिममा परेको भन्दै जिल्लावासी त्रसित हुन थालेका छन् । जिल्ला प्रशासन कार्यालयले दैनिक दुई हजार मानिस जिल्ला प्रवेश गरेको जानकारी दिएको छ ।
दैलेखको डुंगेश्वर गाउँपालिकामा आमाबाबुमा कोरोना संक्रमण देखिए पनि ती दम्पतीका एकवर्षे छोराको रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार भारतबाट आएका सबैको आरडिटी परीक्षण गरिएको थियो । तीमध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि सुर्खेत पठाइएको थियो ।

सुर्खेत प्रयोगशाला हुँदै नेपालगन्ज पठाइएको स्वाबको पिसिआर परीक्षणमा आमाबाबुको पोजेटिभ र एकवर्षे बालकको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाई दैलेखको सरस्वती मावि तर्तांगमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखिएको छ ।