देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गणतन्‍त्र दिवसमा प्रधानमन्‍त्रीको सन्देश : इतिहासको गतिलाई पछाडि फर्काउन कसैले सक्दैन (भिडियाे)

देशान्तर

 प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन निश्चित समय लाग्ने बताएका छन्।  बाह्रौँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै उनले गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरु अनुचित हुने धारणा राखे।

 ‘जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ नै।, उनले भने,  ‘प्रणाली विकासका क्रममा साना तिना कमीहरु देखा पर्न पनि सक्छन्। तर कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरु अवश्य नै अनुचित हुन्। इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि सक्दैन।’

ओलीले गणतन्त्र स्थापनाका १२ वर्षमध्ये अधिकांश समय शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन, नयाँ संविधान निर्माण गर्न र सङ्क्रमणकालको अन्त्य गर्न केन्द्रित गर्नु परेको उल्लेख गरेका छन्। उनले गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको स्मरण गरेका छन्।

‘जनताको चेतनाले ठूलो फड्को मारेको छ। वर्षौँदेखि मूर्च्छित विकास र समृद्धिका सपनाहरुले साकार रुप लिन थालेका छन्। आफ्नो देश आफै बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको छ। राष्ट्रिय एकता सुदृढ भएको छ।’ उनले भने, ‘आफ्नो  निर्णय आफै गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढङ्गले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको छ। विश्व रङ्गमञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा अगाडि बढाइरहेको मुलुकको रुपमा नेपालको छवि बलियो बन्दै गएको छ।’

ओलीले जनताको सेवा र विकास निर्माणका लागि सङ्घीय संरचनाका तीनै तहबीच समन्वय कायम गर्दै अगाडि बढ्ने काम भएको स्मरण गरेका छन्। उनले आफ्नो जिन्दगी उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले भने,  ‘गणतन्त्र प्राप्तिको यस कष्टसाध्य र लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिनन्दन अर्पण गर्न चाहन्छु।’