देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रुकुमपश्चिम घटनामा बोल्यो नेकपा : निष्पक्ष छानविन र दोषीमाथि कारवाही गर्न ध्यानाकर्षण

देशान्तर

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रुकुमपश्चिमको घटनाको ११ दिनपछि आफ्नो धारणा सार्वजनिक गरेको छ । ६ जना यूवाको ज्यान गएको रुकुमपश्चिमको घटनामा ११ दिनपछि देशको सत्तासिन दलको औपचारिक धारणा बाहिर आएको हो । पार्टी महासचिव विष्णु पौडेलले बुधवार विज्ञप्ती जारी गर्दै घटनाको निष्पक्ष छानविन, दोषीमाथि कारवाही र पीडितलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

छुवाछुत विरुद्धको राष्ट्रिय दिवस पारेर नेकपाले जारी गरेको विज्ञप्तीमा छ,‘हालै रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ । हाम्रो पार्टी उक्त विभत्स, त्रासदीपूर्ण र आपराधिक कूकृत्यको घोर निन्दा र भत्र्सना गर्दछ । मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछ । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । उक्त घटनाको निष्पक्ष छानवीन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कार्वाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

नेकपा महासचिव पौडेलले जारी गरेको विज्ञप्ति
आज जेठ २१ गते, छुवाछुत विरुद्धको राष्ट्रिय दिवस, यस उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।

छुवाछुत मानव सभ्यता विरुद्धको एउटा कलंक हो । सामन्तवादी सामाजिक सांस्कृतिक संरचनाको उपजको रुपमा रहेको यस कुप्रथाले युगौंसम्म हाम्रो समाजका श्रमजीवी वर्ग दलित समुदायलाई विभेद र उत्पीडन गर्दै आएको यथार्थ हामी सबैलाई अवगत नै छ । यस उत्पीडनविरुद्ध समाज सुधारक र मानवतावादीहरूले विभिन्न रुपमा आवाज उठाउँदै र सङ्घर्ष गर्दै आएको इतिहाससँग पनि हामी परिचित छौँ । सबैखाले सामन्ती उत्पीडन अन्त्य गर्दै न्यायपूर्ण, समतामूलक र विभेदरहित समाजवादी समाज निर्माण गर्ने लक्ष्य लिएर गठन भएको नेपाल कम्युनिष्ट पार्टीले स्थापना कालदेखि नै यस्ता विभेदविरुद्ध अग्रपंक्तिमा रहेर सङ्घर्ष गर्दै आएको छ ।

नेपाली जनताको बलिदानी सङ्घर्षको जगमा आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नेपाली जनताका प्रतिनिधिहरूद्वारा जारी संविधानले मुलुकमा जातीय विभेद र छुवाछुतलगायत सबै विभेदहरूलाई अन्त्य गर्दै समानता र अविभेदको संवैधानिक प्रत्याभूति गरेको छ । संविधानमा दलित समुदायका निम्ति विशेष व्यवस्थाहरू समेत गरिएका छन् । छुवाछुत र जातीय विभेदलाई सामाजिक अपराधका रुपमा दण्डनीय बनाउने कानुनी व्यवस्था समेत गरिएका छन् ।

तर संवैधानिक र कानुनी हिसाबले यति अग्रगामी परिवर्तन र उपलब्धीहरू हुँदाहुँदै पनि व्यवहारमा अझै पनि दलित समुदायमाथि विभेद र हिंसाका घटनाहरू देखापर्नु गम्भीर चिन्ताको विषय हो । यसले हामीलाई राजनीतिक रुपमा प्राप्त उपलब्धीहरूलाई हेरेर सन्तुष्ट नहुन र सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घच्घच्याइरहेको छ ।

हालै रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ । हाम्रो पार्टी उक्त विभत्स, त्रासदीपूर्ण र आपराधिक कूकृत्यको घोर निन्दा र भत्र्सना गर्दछ । मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछ । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । उक्त घटनाको निष्पक्ष छानवीन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कार्वाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।

हाम्रो पार्टीद्वारा जारी आचारसंहितामा पार्टीका नेता कार्यकर्ताले जातीय समानताको मान्यतालाई आत्मसात गर्नुपर्ने र छुवाछुत जस्तो अपराधमा संलग्न व्यक्तिहरू पार्टीमा रहिरहन नसक्ने स्पष्ट व्यवस्था गरेको छ । हाम्रो पार्टी मुलुकको संविधान, कानुन र पार्टीको विधान एवं आचारसंहिताका आधारमा यस्ता कूप्रथालाई जरैदेखि निर्मूल गर्न कृतः संकल्पित रहेको व्यहोरा जानकारी गराउँदै वास्तविक समानता र मानव गरिमा स्थापित गर्ने यस अभियानमा संलग्न हुन सम्बद्ध सबैमा आह्वान गर्दछ ।