देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सोती घटनाका आरोपितलाई १० दिन थुनामा राख्न अनुमति

देशान्तर

रुकुमपश्चिम । सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका-८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम(पश्चिम)ले आज म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेकामा अदालतले अभियुक्तलाई १० दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । मृतकका परिवारले घटनामा संलग्न रहेको भन्दै २० जनाका नाममा किटानी जाहेरी दिएपछि प्रहरीले चौरजहारी-८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित दुई पटक गरी १८ जनालाई पक्राउ गरेको छ ।

दुई जना भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । घटनामा छ जनाको निधन भएको थियो । पहिलो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि घटनाको थप अनुसन्धान आवश्यक रहेकाले दोस्रो पटक म्यादका लागि अदालतसमक्ष माग गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।