काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले बुधवार बिहान १० बजे बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएको नेपाली कांगेसले जानकारी दिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमवार बसेको बैठकले कोरोना संक्रमण रोकथाम तथा उपचारमा सरकार असफल भएको भन्दै यसको लागि सरकारले गर्नुपर्ने काम, राहत तथा उद्धारको लागि आगामी कामको बारेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । सोही अनुरुप वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा नेताहरू गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक सहभागी टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ज्ञापनपत्रमा उल्लेखित सुझावहरूलाई सकारात्मक र गंभीरतापूर्वक लिएर आवश्यकताअनुसार कार्यान्वयन गरिने जानकारी गराएको नेपाली कांगेसका मुख्य सचिव कृष्ण प्रसाद पोडेलले बताए । कांग्रेसले कोभिड १९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरिएको र सो समितिले सरकारले गरिरहेका कामहरुको अनुगमन पनि गरिरहेको कांग्रसले जनाएकाे छ ।





प्रतिक्रिया