काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले आज एक विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ । उनले बुधबार संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्काे संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् । उनको सो प्रस्तावको तीव्र विरोध भइरहेको बेलामा पार्टीले भने यस्तो चेतावनी दिएको हो ।
मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमति जनाएका थिए । तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । ‘हामीले उहाँलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिइसक्यौं, फिर्ता नलिए पार्टीले कारवाही प्रक्रिया अगाडि बढाउँछ,’ पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले भने ।
‘उहाँले दर्ता गरेको प्रस्ताव पार्टीको होइन । यसबारेमा पार्टीले उहाँसँग स्पष्टिकरण सोध्छ,’ सो पार्टीकी सांसद रेणु यादवले भनिन् ।





प्रतिक्रिया