काठमाडौं । सरकारले परिवर्तन गरेको लकडाउनको मोडालिटीबारे औपचारिक जानकारी आज दिने भएको छ ।
गएराति अबेरसम्म चलेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको थियो । योसँगै कोरोना भाइरसको जोखिम कम भएका जिल्ला तथा स्थानको जनजीवन केही सहज हुने अनुमान गरिएको छ । ती स्थानहरुमा अब स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गरिने छ । काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रमा जोर बिजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गरिने छ ।
सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । यसअनुसार पहिलो चरण आजबाट २१ दिन लागू हुनेछ । त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ । त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ ।
तीनै चरण पूरा भएपछि मात्र सरकारले कोरोना संक्रमणको स्थिति विश्लेषण गरी सबै सेवा तथा व्यवसाय खुला गर्नेछ । अहिलेकै अवस्थामा पनि लकडाउन पूर्णतया अन्त्य हुन कम्तीमा ५१ दिन लाग्नेछ । यसबीच संक्रमणको अवस्था अहिलेभन्दा नराम्रो भयो भने यो तालिका परिवर्तन हुनसक्छ ।
विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु भने तत्काल खुल्ने छैनन् । यसबारे आज दिउँसो तीन बजे सरकारले विस्तृत रुपमा जानकारी दिने जनाइएको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड १९) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत १० गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन रोकेको थियो भने ११ गतेबाट लकडाउन गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप गरिएको छ र पछिल्लो पटक थपिएको समय जेठ ३२ सम्म कायम छ ।






प्रतिक्रिया