झिमरुक । क्वारेन्टाइनमा बिरामी भई उपचारका लागि बुटवलमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएका माण्डवी गाउँपालिका ४ आपचौरका १८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। मृतक पुरुषको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले बताए।
उनलाई श्वासप्रस्वासमा समस्या आएपछि शुक्रबार राति एम्बुलेन्समा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। घोराहीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बुटवल लैजाँदै गर्दा शनिबार बिहान बाटोमै उनको मृत्यु भएको थियो। जेठ २१ गते संकलन गरिएको स्वाब परीक्षणको पीसीआर रिपोर्ट आज नेगेटिभ आएको हो।
क्वारेन्टाइनमा मृतकसँगै बसेका १३१ को पीसीआरका लागि स्वाब संकलन गरी पठाइएको थियो। यसमध्ये ५२ को रिपोर्ट आज आए पनि मृतक पुरुषको मृत्यु पछिमात्रै पीसीआर रिपोर्ट नेगेटिभ आएको हो। रिपोर्ट नेगेटिभ आएपछि मृतक पुरुषको माण्डवी गाउँपालिका ४ आँपचौरमा स्काभेटरको सहायताले खाडलमा शव व्यवस्थापन गर्न थालिएको स्वास्थ्य प्रमुख पोख्रेलले बताए।





प्रतिक्रिया