काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले करको मान्यता विपरीत फर्निचरका उत्पादनहरुमा अन्तशुल्क लगाइएको बताएका छन् । आर्थिक विधेयकमाथि संशोधन प्रस्ताव राखेका सांसद राजभण्डारीले आइतबारको प्रतिनिधिसमा बैठकको छलफलमा भाग लिँदै फर्निचरका उत्पादनहरुमा करको मान्यता विपरीत अन्तशुल्क लगाइएको बताएका हुन् ।
नागरिकले उपभोग गर्ने वस्तुहरुमा मूल्य अभिवृद्धि कर हटाउने गरी आर्थिक विधेयक संशोधन गर्नुपर्ने उनले बताए । जनतालाई राहत दिन हाल कायम रहेको १३ प्रतिशत मूल्य अभिवृद्धि करलाई १० प्रतिशतमा झार्नुपर्नेमा सांसद राजभण्डारीले जोड्दिए । उनले कोरोनाका कारण न्यून आए भएका कर्मचारीको खरिद क्षमता घटेकाले आयकर हटाउनुपर्ने माग गरेका छन् ।
‘कर्मचारीहरु सबैको विभिन्न आय भत्ता सबै घटाइदिएको । सरकारी कर्मचारीको आय घटेपछि स्वतः निजी क्षेत्रका कर्मचारीहरुको आय पनि घट्न जान्छ,’ उनले भने, ‘अहिले जुन परिस्थिती छ त्यसले गर्दा सबै कर्मचारीहरुको खरिद गर्न सक्ने क्षमता पनि घट्दै गइरहेकोले छ, तसर्थ थ्रेस फोल्ड छ साढे चार लाखसम्म आयकर नलाग्ने व्यवस्था होस् भन्ने मैले आफ्नो संशोधन प्रस्ताव राखेको छु ।’
उनले पेट्रोलियम पदार्थमा विकास करका नाम गरिएको कर वृद्धिलाई पनि घटाउन माग गरेका छन् । साथै भन्सारमा बिलासीताका वस्तु बढी आएको भन्दै त्यस्ता वस्तुलाई एक वर्षको लागि रोक्न माग गरेका छन् । ‘विभिन्न कस्मेटिक सामान र प्याकिङ फुड आइरहेका छन् त्यस्ता बस्तुलाई १ वर्षका लागि रोक्न सकिन्छ,’ उनले भने, ‘खरिद गरिसकिएका र स्टक रहेका गाडीलाइ मात्र प्रवेश दिने गरी व्यवस्था गरियोस् ।’
सांसद राजभण्डारीले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको समेत आरोप लगाए । नेपाली कांग्रेस र आफूले सकारलाई कोरोनाबारे माघ १४ गतेदेखि नै सचेत गराएको तर सरकारले कुनै वास्ता नगरेको बताए । ‘हामीले माघ १४ देखि नै कोरोना भगाऊ भनिरहेका थियौं तर सरकार कोरोना बोलाऊ नोट पचाऊको धन्दामा लागेको रहेछ,’ उनले भने अहिलेको अवस्था आउनुमा सरकारको दोष छ र यो जनआक्रोस पनि त्यसैको परिणाम हो ।’





प्रतिक्रिया