काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा नयाँ युगको सुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सबै प्रकारका विभेदको अन्त्य गर्दै एकीकृत सामाजिक रुपान्तरण गर्न प्रभावकारी ढंगबाट काम गर्ने बताए ।
उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले ज्येष्ठ नागरिक आश्रम स्थापना गर्ने योजना अघि सारिएको प्रस्ट पारे ।
उनले भने–‘जातीय भेदभाव तथा छुवाछूत, बोक्सी प्रथा, छाउपडी प्रथालगायत सबै प्रकारका विभेद अन्त्य गर्ने उद्देश्यले सरकाले सामाजिक रुपान्तरणको नीतिलाई अगाडि सारेको छ । लैंगिकमैत्री नेपाल घोषणा गर्दै समाजलाई आत्मनिर्भर बनाउने अभियान चालेका छौं ।’
सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य समाजको निर्माण गर्न विद्यालयस्तरबाटै पाठ्यक्रम परिमार्जन गर्ने तयारीमा रहेको उनको भनाइ थियो ।
सांसद तारादेवी भट्ट र अनिता देवकोटाले ‘क्वारेन्टिन’मा महिला बलात्कार भएकोबारे राखेको प्रश्नमा मन्त्री गुरुङले भएका ऐन–कानुनको कार्यान्वयनसँगै चेतनामार्फत् समाज रुपान्तराण गर्न नीति–निर्माण गर्ने तयारी भइरहेको बताए ।
सडक बालबालिकामुक्त राष्ट्र बनाउने अभियानअन्तर्गत् सरकारले तीव्ररुपमा काम गरिरहेको उनको भनाइ थियो ।





प्रतिक्रिया