देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रुकुमपश्चिम घटनाको मुद्दामा जाहेरीवालातर्फका वकिलको बहस जारी

देशान्तर

रुकुमपश्चिम । रुकुमपश्चिम घटनाको मुद्दामा आज नौ वकिलले बहस गरेका छन् । जाहेरीवालातर्फका वकिलको बहस जारी छ । जाहेरीवालाकै तर्फबाट बहस गर्ने वकिलको पालो सोमबारसम्म सकिने देखिएको छ ।

जाहेरीवालातर्फका छ-सात वकिलले अझै बहस गर्न बाँकी रहेको रुकुम जिल्ला अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । बिहीबार प्रतिवादीको बयान सकिएपछि शुक्रबारदेखि थुनछेक बहस शुरु भएको हो । पहिलो दिन वादीका तर्फबाट पाँच सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि जाहेरीवालातर्फका वकिलको बहस आजदेखि शुरु भएको हो ।

जाहेरीवालाका तर्फबाट वकालतनामा पेश गरेका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस शुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ । उनका अनुसार सोमबार समय भएसम्म जोहेरीवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस पनि शुरु हुने छ । सोमबार समय नभए मङ्गलबारदेखि प्रतिवादीतर्फका वकिलको बहस हुने छ । प्रतिवादीका तर्फबाट ६ वकिलले बहस गर्ने छन् । मंगलबारसम्म बहस सकिएमा सोही दिन थुनछेक आदेश हुन सक्ने बताइएको छ ।

छ जनाको ज्यान जानेगरी गत जेठ १० गते चौरजहारी नगरपालिका– ८ सोतीमा भएको घटनामा संलग्न भएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले चौरजहारी– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जना विरुद्ध रुकुम अदालतमा मुद्दा दर्ता गराएको छ । तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् भने पाँच जना फरार छन् । दुई नाबालकलाई अदालतको आदेशानुसार बालसुधार गृहमा पठाइएको छ ।