काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा ऐन २०४९ (प्रस्तावित नयाँ संघीय निजामती सेवा ऐन २०७७) मा केही संशोधन गर्न विधेयक पारित गरी संसद्मा पेस गरेको विषयप्रति पूर्वकर्मचारी समाज नेपालले ध्यानाकर्षण भएको जनाएको छ । सेवा निवृत्त कर्मचारीहरूको छाता संगठन भएको नाताले समाले विधेयक तत्काल फिर्ता लिन माग गरेको छ ।
समाजले बहालवाला कर्मचारीको तलब वृद्धि हुँदा सेवा निवृत्तको पनि निवृत्तिभरण (पेन्सन) वृद्धि हुने व्यवस्था हटाइएको सम्बन्धमा, सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गरेको आधारमा सेवा निवृत्त कर्मचारीको निवृत्तिभरण (पेन्सन) नपाउने सम्बन्धमा, विभिन्न बहानामा ट्रेड युनियन अधिकारको कटौती गर्ने सम्वन्धमा गरिएको संशोधन फिर्ता लिनुपर्ने माग अघि सारेको हो ।
यसैगरी, सेवामा रहिरहेका कर्मचारीको वृत्ति विकासलगायतका सुविधामा कटौती गर्ने गरी संशोधित विधेयकप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘राज्य लामो समय सेवागरी अवकाश भएका कर्मचारी माथि क्रूर बन्ने अवस्था आएमा, देशभरका सेवानिवृत्त लाखौं कर्मचारी एक भएर विरोधमा उत्रने र वहालवाला कर्मचारीहरूको वृत्ति विकास र ट्रेड युनियन अधिकार कटौती सम्बन्धी विरोधमा ऐक्यबद्धता जाहेर गरी अगाडि बढ्ने व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।
अवकाश कर्मचारीलाई अझ बढी प्रोत्साहन र बहालवाला कर्मचारीको मनोवल उचो बनाई अहिलेको विकराल परिस्थितिको सामना गर्दै जानु पर्नेको सट्टा सुविधा कटौती गरी निरुत्साहित पार्ने नीति कुनै पनि मानेमा लोकतान्त्रिक राज्य व्यवस्थाको सामान्य सिद्धान्त भित्र पर्दैन । स्थायी अंगलाई भताभुंग हुनेगरी पारित विधेयक सम्बद्ध सबैको विरोध हुनु जरुरी छ । यस समाज पुनः यसको घोर विरोध गर्दै तत्काल फिर्ता लिन अपिल गर्दछ’ अध्यक्ष बटुकृष्ण पौडेल र महासचिव ऋषिराम आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया