अविरल वर्षासँगै खसेको पहिरोले बिहीबार म्याग्दीमा पाँच घर पुरिएका छन् भने ९ जना बेपत्ता छन् । एउटा बेलिब्रिजसमेत भत्किएको छ ।
धौलागिरि गाउँपालिका–६ मराङको घन्टीवाङबाट खसेको पहिरोले रिखाका भीमबहादुर जुग्जाली र धनबहादुर जुग्जालीका सहित चार घर बगेका छन् ।
पहिरोमा भीमबहादुरको परिवारका चार र धनबहादुरको परिवारका तीन जना बेपत्ता छन् । त्यस्तै मालिका गाउँपालिका–७ बिमको दुलेमा सोमनाथ पौडेलको घर बग्दा दुई जना बेपत्ता भएको स्थानीयले बताए ।
पहिरोले त्यहाँको शिव आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ ।वडाध्यक्ष राजाराम सुवेदीका अनुसार पहिरोले घन्टीवाङको माथिल्लो खण्डमा १३ र तल्लो खण्ड रिखाका ४ परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले पहिरोमा केही घर पुरिएको र मानवीय क्षतिको जानकारी आए पनि संख्या यकिन भइनसकेको जनाएको छ ।
त्यसै गरी राहुघाट खोलामा आएको बाढीले कटान गर्दा बेनी–जोमसोम सडकको गलेश्वरस्थित राघुघाट खोलामाथिको बेलीब्रिज बगाएको छ । पुल बगाएपछि बाढी अहिले पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको छ ।
रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अब यातायात सम्पर्कबाट पूर्ण विच्छेद भएका छन् ।





प्रतिक्रिया