सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिस्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिस्ट्रारसँगै विभिन्न तीन संकायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान छ । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले रजिस्ट्रार पदका लागि १९ जनाको दरखास्त परेको जानकारी दिए । उनले अबको एक साताभित्रै विश्वविद्यालयले नयाँ रजिस्ट्रार पाउने बताए । डिनका लागि दरखास्त अवधि बाँकी नै छ । आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व डिनदेखि सह-प्राध्यापकलगायत छन् ।
विश्वविद्यालयका अनुसार सेवा आयोगका सदस्य प्राडा केशरसिंह राना, पूर्वडिन प्राडा दीपबहादुर रावल, पूर्वडिन एवं सह-प्राध्यापक अनन्तराज घिमिरे, प्राडा नारायप्रसाद शर्मा, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख जितबहादुर शाह, बुद्धि सापकोटालगायतको रजिस्ट्रार पदका लागि आवेदन परेको छ । रासस





प्रतिक्रिया