काठमाडौं । नेपाल पत्रकार महासंघले केन्द्रीय समिति मातहत रहनेगरी पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । पत्रकारको दैनिक जीवनयापनमा समस्याका कारण पेशाबाटै पलायन हुनुपर्ने वाध्यात्मक अवस्था आउन नदिन महासंघले आपतकालीन राहत कोष स्थापना गर्ने पहलकदमी लिएको हो ।
महासंघ केन्द्रीय समितिले ३० लाख रुपैया जम्मा गरेर सुरुआत गरेको कोषमा नेपाल पत्रकार महासंघका बेलायत, युरोप, जापान, युएई, कोरिया, कुवेत, भारत, कतार शाखा तथा नेपाल अमेरिका पत्रकार संघ नेजा र नेपालिज जर्नालिष्ट एशोसिएसन अष्टेलियाले एक महिनाभित्र सकेको रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।
महासंघका प्रदेश र जिल्ला शाखा, एसोसिएट र प्रतिष्ठानको पहलमा समेत कोषमा रकम जम्मा गरिने उनले बतँए । कोषमा जम्मा भएको रकम खर्च नगर्ने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्याबाट पीडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने महासंघको तयारी छ ।





प्रतिक्रिया