काठमाडौं । आगामी सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू भाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ। मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। प्रदेश नम्बर १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक सरजु कुमार वैद्यले बताए ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उनको भनाई छ। मनसुन सुरु हुनुभन्दा पहिले देखि नै औसतभन्दा बढी वर्षा भइरहेको उनले बताए। गृहमन्त्रालयमा भएको कार्यक्रममा भूगर्भविद शिव बाँस्कोटाले जमिन चिरा परेको र रुखहरू ढल्किएको ठाउँमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरे।





प्रतिक्रिया