देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अध्यक्षद्वय ओली र दाहालबीच छलफल

देशान्तर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आज पनि छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।

छलफललाई निरन्तर अगाडि बढाउने विषयमा दुई अध्यक्षबीच सहमति भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । शनिबार बसेको सचिवालयको बैठकमा पार्टीमा देखिएको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको थियो । बैठकमा अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच छलफल भए पनि आजका लागि तय भएको स्थायी कमिटीको बैठक भने यही साउन ६ गतेसम्मका लागि स्थगित भएको छ । यस्तै अध्यक्ष दाहालले आजै पार्टीभित्र देखिएको समस्या समाधानका लागि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतसँग पनि छलफल गरेका थिए । यस्तै महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग पनि अध्यक्ष दाहालले कुराकानी गरेका थिए।