काठमाडौँ । नेपाली काँग्रेसका सस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३८ औँ स्मृति दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ परिसर सरसफाइ गरिएको छ । नेपाल तरुण दल काठमाडौँको आयोजनामा आज बौद्धनाथ क्षेत्र परिसर सरसफाइ गरिएको हो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान नभएसम्म काँग्रेस बलियो हुन नसक्ने बताए । काँग्रेस बलियो हुन जनतामाझ पुग्नुपर्ने उनको भनाइ थियो ।
तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्काले जनताको पिरमर्काप्रति काँग्रेसले सशक्त भएर आवाज उठाउनुपर्ने बेला आएको बताए। “सरकारले गरेका गलत क्रियाकलापको खबरदारीका लागि काँग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्था परिचालन गर्नुपर्छ”, उनले भने ।
कार्यक्रममा वाग्मती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, नेपाल महिला सङ्घ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीलगायतको सहभागिता रहेको थियो । बौद्धनाथ परिसर सरसफाइका लागि काठमाडौँ महानगरपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामाले सरसफाइ सामग्री सहयोग गरेका थिए ।





प्रतिक्रिया