देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनमा ५ जनाकाे शब फेला

देशान्तर

चितवनमा रहेका दुई ठूला नदीमा बुधबार पाँच जनाको शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेको र किनारमा तैरिएको अवस्थामा शव भेटिएका हुन् ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा दुई जनाको बेवारिसे शव फेला परेको छ । ती मध्ये एक जना अन्दाजी १५ वर्षीया किशोरी र अर्का ५५ वर्षीय एक पुरुष रहेको थापाले जानकारी दिए ।

ती शव सडेको अवस्थामा फेला परेका हुन् । त्यस्तै भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष ४० का सानो कान्छा भन्ने कर्णबहादुर सुनारको शव बुधबार फेला परेको छ ।

मङ्गलबारदेखि उनी बेपत्ता भएका थिए । उनको वडा नम्बर १६ कै झनझने भन्ने ठाउँमा शव भेटिएको हो ।

भरतपुरकै वडा नम्बर १ गैँडाचोकस्थित नारायणी किनारमा अन्दाजी ५० वर्षीया एक महिलाको शव फेला परेको छ ।

त्यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिको बूढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको उनले जानकारी दिए ।

बग्दै गरेको शव देखिएपछि स्थानीय र प्रहरीले नदी बाहिर निकालेका थिए । एक जनाबाहेक अन्यको सनाखत हुन सकेको छैन ।

विभिन्न ठाउँमा बगाएको वा पुरेको ठाउँबाट बाढीले शव बाहिर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । शवको मुचल्का गरेर परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । रासस