देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहालले भने – नेकपामा गम्भीर संकट आउन सक्छ

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक विवादले पार्टीमा गम्भीर संकट आउन सक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा आयोजित श्रद्धाञ्‍जली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीको विवादले गम्भीर संकट निम्तने बताए ।

कम्युनिस्ट नेताहरु पुष्पलाल र नरबहादुर कर्मचार्यलाई स्मरण गर्दै उनले भने, ‘अर्काको रगत चुसेर बसेका शासकहरुलाई फ्याकेर ल्याइएको अहिलेको शासन व्यवस्थामा जनता निराश हुँदै गएका छन् । यो संकटको अवस्था हो ।’ पार्टीमा चलेको संघर्ष कम्युनिस्टहरुको नियमित अभ्यास भएको बताउँदै दाहालले भने, ‘कम्युनिस्टमा वर्ग संघर्ष र वैचारिक विवादमा आइरहन्छ । कम्युनिस्ट पार्टीको संघर्ष समाजमा चलेको संघर्षको प्रतिरुप हो । कम्युनिस्ट पार्टीहरु एकता, संघर्ष, रुपान्तरण र फुटसम्म पनि पुगेका छन् ।’

उनले एकता निश्‍चित मूल्य मान्यता र विधि पद्धतिका आधारमा हुने बताउँदै एकता चोचोमोचो मिलाएर नहुने बताए । अध्यक्ष दाहालले संघर्षको जगभन्दा बाहिर एकताको माला जपेर पार्टी बलियो नहुने दाबी गरे । उनले एकता, संघर्ष, रुपान्तरणबाट फुटसम्म पुगेमा पनि नयाँ आधारमा नयाँ एकता आवश्यक हुने बताए।

उनले भने, ‘एंगेल्सले भनेको संघर्ष गर्दै जाँदा हरेक प्रवृत्तिले पार्टी एकता हुन्छ नै भन्‍ने छैन, फुटमा पनि जान कस्छ। हामी अहिलेका कम्युनिस्टहरुले संसारभरिको इतिहास हेर्नुपर्छ। आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्ने क्रममा विभाजनको अवस्था पनि आउन सक्छ, यो कम्युनिस्ट पार्टीको अभ्यास नै हो।’