देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपाका ३१ नेताले दिए संयुक्त राजीनामा,कांग्रेस प्रवेश गर्ने तयारी !

देशान्तर

काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापासहित ३१ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताले पार्टीबाट संयुक्त राजीनामा गरेका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै थापा सहित विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जनाले राजीनामा पत्र बुझाएका हुन् ।

राजिनामा पत्रमा नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको उल्लेख छ ।

कांग्रेस प्रवेश गर्ने तयारी
नेता किरण गिरीका अनुसार संयुक्त रुपमा राजीनामा दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले नेपाली कांग्रेस प्रवेश गर्ने तयारी गरेका छन् । यही साता कांग्रेस प्रवेश गर्नेगरी तयारी भइरहेको राप्रपा छोडेका नेता गिरीले जानकारी दिए । नेता गिरीले कांग्रेस प्रवेश गर्ने विषयमा लामो समयदेखि छलफल भइरहेको स्वीकार गरे ।

यता राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने थापाले पार्टी परित्याग गरेर गम्भीर राजनीतिक भूल गरेको प्रतिक्रिया दिएका छन् । ‘उहाँले आफ्‍ना बुवाको विरासतलाई निरन्तरता दिनबाट चुक्नु भएको छ । पार्टी छाडेर उहाँले गम्भीर राजनीतिक भूल गर्नुभएको छ’ श्रेष्ठले भने ।