काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गरेका छन् ।
सोमबार वीर अस्पतालको १ सय ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरुले देखेको तर नेपालीहरुले नदेखेको गुनासो गर्दै मन्त्री ढकालले नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने बताए ।
कार्यक्रममा मन्त्री ढकालले शक्ति सम्पन्न राष्ट्रहरुले भन्दा नेपाल सरकारले प्रभावकारी काम गरेको दाबि गर्दै नेपालीहरुले नै नदेखेको गुनासो गरे । विदेशमा बस्ने नेपाली र स्वदेशमा बस्ने नेपाली सबैले सरकारको काम नदेख्नुले नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने अनुभूति आफुलाई भएको बताउदै भने, ‘मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाविन्दु लागेको छ कि जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’
कोरोनाबाट विश्वभर मृत्यु हुनेहरुको दर बढी रहेको तर नेपालले शून्य दशमलव २ प्रतिशत भन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको उनको भनाई थियो । सरकारको स्वास्थ्य नीति कस्तो छ र सरकारबाट कस्तो स्वास्थ्य सुविधा पाउन सकिन्छ भन्ने थाहा पाउन एकपटक वीर अस्पतालमा आउनै पर्नेसमेत मन्त्री ढकालले बताए ।
अस्पतालले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा नियमित रुपमा प्रदान गर्नाका साथै कोभिड–१९ सँग सम्बन्धित परीक्षणको सेवासमेत प्रदान गरेको उल्लेख गर्दै नेपाल र नेपाली जनताको गौरव एवम् पहिचानका रुपमा स्थापित अस्पतालले थप सेवा विस्तार र प्रभावकारी तुल्याउँदै नमूना अस्पतालका रुपमा आफूलाई स्थापित गराउनुपर्ने बताए । सरकारले स्वास्थ्य सेवा सुधारका काम गर्न थालेको र कोभिड–१९ का कारणले केही ढिलाइ भएको उनले बताए ।





प्रतिक्रिया