काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै अग्रजका सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम भइरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको उल्लेख गरेका छन् । त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेको उल्लेख गर्दै उनले पूँजी र प्रविधिको प्रयोग गरेर उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने बाटोबाट समृद्धि हासिल हुने बताए ।
समानतालाई समृद्धिसँग जोडेर मुलुकमा परिवर्तन ल्याउन हामी अग्रसर रहेका छौँ भन्दै जनताको जीवनमा समृद्धिसहितको समानता हासिल गरी अमात्यका योगदानलाई चिरस्मरणीय बनाउन पनि उनले आह्वान गरेका छन् । अमात्य नेपालको पहिलो पुस्ताका कम्युनिष्ट नेता थिए ।
१५ सेप्टेम्बर सन् १९४९ मा पार्टीका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा कम्युनिष्ट घोषणापत्र जारी गर्दा उनी पनि सहभागी रहेका थिए । विसं २००८ मा स्थापना भएको अखिल नेपाल किसान सङ्घको उनी संस्थापक अध्यक्ष थिए। विसं २००९ देखि २०१४ सम्म नेपालमा भएका ठूला किसान विद्रोहको नेतृत्व उनले गरेहका थिए । तत्कालीन संसद्को राष्ट्रियसभामा पाँच सिट रहेको कम्युनिष्ट पार्टीको संसद्मा सशक्त भूमिकाका लागि अमात्यको स्मरणीय योगदान छ ।






प्रतिक्रिया