काठमाण्डौ – यो वर्ष मनसुन सक्रिय भएयता अहिलेसम्म विभिन्न विपद्मा परेर दुई सय जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर एक सय ७६, बाढीमा परेर पाँच र चट्याङ लागेर १९ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विपदमा परेर ५४ जना अझै हराइरहेका छन् भने एक सय ९० जना घाइते भएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा विपद्का १० वटा घटना भएका छन् । घटनामा परि चार जनाको ज्यान गएको छ भने ३८ लाख ५७ हजार रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।झापाको कमल गाउँपालिका ५ मा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीले घरसमेत भत्काएको छ ।
यस्तै दैलेखको महाबुगाउँपालिका ५ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बैतडीको डिलासैनी गाउँपालिका ४ मठैराजमा पहिरोले घर भत्काउँदा आमा र छोराको च्यापिएर मृत्यु भएको छ ।
यसैबीच सिरहाको गोलबजार नगरपालिका २ मा धुपबाट आगलागी हुँदा स्टेसनरी पसल नष्ट भएको छ भने सप्तरीको सुरुङ्गा नगरपालिका १० मा विद्युत् शर्ट भइ आगलागी हुँदा घर पूर्णरुपमा क्षति भएको छ । यता पहिरोका कारण पर्वतको जलजला गाउँपालिका ३ मा पर्ने बेनी मालढुङ्गा सडकखण्ड बन्द भएको छ ।





प्रतिक्रिया