देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिरोमा बैशाख यता २०६ जनाको मृत्यु : शुक्रबार एकै दिन १७ को मृत्यु, २८ बेपत्ता

देशान्तर

सिन्धुपाल्चोक – मुलुकका विभिन्न क्षेत्रमा पहिरोमा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिए । बेपत्ता भएकाको खोजी जारी छ ।

स्थानीयवासीले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिरोबाट जोगिएनन् । स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाले पहिरोग्रस्त क्षेत्र पुगेर स्लथगत अनुगमन गरेका छन् । पाँच घाइतेलाई उद्धार गरेर अस्पताल ल्याइएको छ । यस्तै सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पुर्याइएको छ ।

ओस्तीका अनुसार कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरोमा परेर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते छन् । पहिरोले उनीहरुको घर थिचेको थियो । मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा एक जनाको मृत्यु भएको ओस्तीले जानकारी दिए। सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ । यो वर्षको वैशाखदेखि आजसम्म पहिरोमा परेर २०६ जनाको मृत्यु भएको छ । अझै ७१ जना बेपत्ता छन् । १६० भन्दा बढी घाइते भएका छन् ।