देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेशमा अलपत्र नेपाली श्रमिकलाई निःशुल्क स्वदेश फर्काउन काग्रेसको आग्रह

देशान्तर

काठमाण्डौ – विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन श्रमिकमाथि खर्चिलो प्रणाली लादिएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ ।

महंगो भाडादर तोकेर सरकारले सर्वोच्चको आदेश उल्लंघन गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ । गएको असार १ गते सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परेर नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्धार गर्न’ भनेर सरकारलाई आदेश जारी गरेको थियो ।

६ महिनादेखि बेरोजगार भएर खाडीमा बसेका नेपाली श्रमिकलाई चार्टर्ड फ्लाइटको महंगो टिकट खरिद गर भन्नु न्यायोचित नभएको भन्दै नेपाली कांग्रेसले त्यस्ता श्रमिकलाई निःशुल्क स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ ।

यस्तै कछुवाको गतिमा उद्धार भएको भन्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको पीडा बुझ्ने हृदय सरकारसँग नभएको पनि बताएका छन् । । सरकारको पछिल्लो निर्णय अनुसार सरकारले विदेशमा अप्ठयारोमा परेका नेपालीलाई उद्धार भन्दा पनि व्यापार बढी गरिरहेको प्रवक्ता शर्माको आरोप छ ।

श्रमिक आफैले चार्टर्ड फ्लाइटको महंगो टिकट काट्नु पर्ने, होटेल क्वरेण्टीनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, पीसीआर परीक्षण आफै गराउनुपर्ने अनि गाउँ पुग्ने यातायात खर्च समेत आफै व्यहोर्नुपर्ने जस्ता कारणले सरकारसँग मानवताको भावना कम र व्यापारिक दिमाग बढी चलेको उनको भनाइ छ ।

सरकारी खर्चमै क्वारेण्टीन, पीसीआर परीक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।