
काठमाडौँ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री, संचार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले कुलमान घिसिंङलाई सामाजिक संजालले दिएको नियुक्ति सरकारलाई थाहा नभएको बताएका छन् ।
सरकारका निर्णय सार्बजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. खतिवडाले घिसिङलाई नियुक्ति गर्न कुनै प्रस्ताव समेत नआएको र यस बारेमा कुनै निर्णय पनि नभएको स्पष्ट गरेका छन् ।
घिसिङको नियुक्तिको विषयमा सोधिएको प्रश्नको जवाफमा डा. खतिवडाले भने – ‘उँहालाई सामाजिक संजालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक संजालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन तर औपचारिक प्रस्ताव पनि छैन र त्यस सम्बन्धि छलफल पनि भएको छैन । त्यसैले त्यो लेखाइ र बोलाइमा कुनै सत्यता छैन ।’
यहि भदौ २९ गते आफ्नो कार्यकाल सकिन लागेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले फेरी नियुक्ति दियो भनेर मंग्लाब्र दिनभरी सामाजिक संजाल र मिडियामा लेखिएको थियो । अहिले आम स्तरबाट कुलमानलाई अर्को कार्यकाल थप गर्नुपर्ने भन्दै सामाजिक संजाल र मिडियाबाट दबाब दिइएको छ । तर सरकारले यस बारेमा केहि औपचारिक निर्णय अझै नलिएको सरकारका प्रवक्ता डा. खतिवडाले स्पष्ट पारेका छन् ।





प्रतिक्रिया