
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रौतहट र मोरङमा भएका छुट्टाछुट्टै घटनाको गहिरो अनुसन्धान गर्न माग गरेको छ । कांग्रेसले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर रौतहट र मोरङमा भएका छुट्टाछुट्टै घटनाको गहिरो अनुसन्धान गर्न माग गरेको हो ।
रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षीय विजय महरा र मोरङको जिल्ला कारागारमा रहेका २६ वर्षीय निराजन यादवको मृत्युको घटना छानबिन कांग्रेसले माग गरेको हो ।
“रौतहट र मोरङमा राज्यको नियन्त्रण र जिम्मेवारीमा रहेका दुई युवाहरूको शंकास्पद ढंगले आज भएको मृत्युको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ,” प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएके छ, “परिवारका सदस्यले दिएको जानकारी अनुसार स्वस्थ र हट्टाकट्टा युवक थिए । तर आज अकस्मात बिरगंजको एक अस्पतालमा उनको निधन भएको खबर थाहा पाउँदा परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक हो । नेपाली कांग्रेस रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकार समक्ष माग गर्दछ ।”
कांग्रेसले मोरङको जिल्ला कारागारमा रहेका निराजनको आज अपरान्ह कोशी अस्पताल पुर्याए लगत्तै भएको मृत्यु बारे शंकास्पद विवरणहरु बाहिर आएका भन्दै घटनाको सत्यतथ्य अनुसन्धानमार्फत् सार्वजनिक पनि माग गरेको छ ।
कांग्रेसले भनेको छ, “धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरु दोहोरिनु अत्यन्तै दुःखद छ ।
एकपछि अर्को उस्तै घटना हुँदै जांदा नेपाल प्रहरीको छविलाई त्यसले पुर्याउने असरप्रति गम्भीरताका लागि यसको नेतृत्वलाई समेत सजग गराउंदै नेपाली कांग्रेस वास्तविकता सार्वजनिक गर्ने र आवश्यक कार्वाहीको प्रक्रियामा जाने कार्यमा कुनै मोलाहिजा नगर्न सरकार समक्ष आग्रह र माग गर्दछ ।”
यस्तै कांग्रेसले रौतहटको माधवनारायण नगरपालिकामा रहेको हनुमान मन्दिरका पूजारी राम साहको हत्यारालाई कानुनको कठघरामा खडा गर्नका लागि अनुसन्धानमा विशेष तदारुकताका लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ ।





प्रतिक्रिया