देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इन्जिनियरको अकुत आर्जन: एक करोड मात्र वैध, १६ करोड अवैध

देशान्तर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोजनाका प्रवक्ता तारानाथ अधिकारीका अनुसार २०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा प्रवेश गरेका गुग्ताले २०७६ असार ५ गतेसम्म पदमा बहाल रहँदासम्म गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार गुप्ताको वैध आय रु एक करोड ११ लाख ६९ हजार ९६२ मात्रै रहेको भएपनि रु १७ करोड ८४ लाख २६ हजार ४५९ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको रकमको स्रोत नखुलेको पाइएको छ । आयोगले गुग्ताका आफन्तहरु अन्जुकुमारी महतो, उदितनारायाण प्रसाद रौनियार, चन्द्रेश्वर महतो, धिरजकुमार गुप्ता, प्रितीकुमारी गुप्ता, डा रचनाप्रसाह साह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली रु १० करोड ४४ लाख ४३ हजार ७८३ बराबरको रकम लुकाई छिपाई राखेको पाइएको छ ।

आयोगले उनीहरुको सम्पत्ति जफत गरी हदैसम्मको कारवाहीको माग गरेको छ । यस्तै आयोगले नेपाल खानेपानी संस्थान पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्लेले सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । आयोगले वाग्लेलाई पोखरा महानगरपालिका ट्याक्सी चोकबाट आज पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।