काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले बाढी पहिरोबाट प्रभावित नागरिकको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन् । अस्थायी रुपमा भए पनि सिन्धुपाल्चोक, बागलुङ, कालिकोट लगायत देशभरी नै बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन छिट्टै गरिने उनको भनाइ छ । गृहमन्त्री थापालाई शुक्रबार भेट्न पुगेका सिन्धुपाल्चोकका प्रतिनिधिहरुसँग चिसो सुरु हुनु अगाडि नै पालमा बसेका नागरिकहरुको व्यवस्थापन गरिने बताएका हु्न् ।
‘चिसो बढ्दै जाने समय छ । हिउँद सुरु हुन्छ । अहिले बाढी पहिरो प्रभावितहरु पालमा बसेका छन् । चिसोमा त्यसले धान्दैन । यसका लागि तत्काल चाल्नुपर्ने स्टेप (कदम) चाल्छौँ । सकेसमम न्यानो हुने अस्थायी किसिमको बसाइको व्यवस्था गर्छौं,’गृहमन्त्री थापाले भने, ‘हिउँदमा चिसोले मानवीय क्षति नहोस् भनेर हामीले ध्यान दिएका छौँ ।’ जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्न स्थानमा गरी अहिले ३ सय ५१ बस्ती जोखिममा रहेको गृहमन्त्री थापालाई सुनाएका थिए । उनका अनुसार जिल्लामा ३ सय ५१ बस्तीका ६ हजार ५ सय ७१ परिवार जोखिममा छन् ।
यो वर्षको असार २४ गतेबाट भदौ २७ सम्ममा १ सय १३ जना गरी पाँचयता सिन्धुपाल्चोकमा प्राकृतिक विपद्बाट ३ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । १७ सय ७० जना घाइते भएका छन् । ५५ करोड ८२ लाख बढीको आर्थिक क्षति भएको छ । असार २४ गते बाह्रबिसे नगरपालिका ५ मा पहिरो जाँदा २१ जना, साउन २० गते जुगल २ लिदीमा ३९ जना र बाह्रबिसे ७ को भिरखर्च र नागपुजेमा ३१ जनाको मृत्यु भएको थियो ।





प्रतिक्रिया