काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो। दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार सचिवालय बैठक दिउसो ४ बजेका लागि बोलाइएको छ।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकताको बाँकी प्रक्रिया लगायतका विषयमा छलफल हुनेछ । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन । उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सहभागी गराउने, नगराउनेमा देखिएको मतभेदले पनि सहमति जुट्न सकिरहेको छैन ।
सरकारले बिहीबार शंकरदास बैरागीलाई मुख्य सचिव, डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । नियुक्तिलाई लिएर नेकपाका कतिपय नेताहरुले असन्तुष्टि जनाएका छन् । सबै विषयलाई सचिवालय बैठकमै छलफल गर्ने अध्यक्षद्वयबीच सहमति बनेको नेकपा स्रोतले जनाएको छ।





प्रतिक्रिया