काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीच आज बसेको बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकले जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने र केन्द्रीय कार्य समिति विस्तार गर्ने लगायतका निर्णयहरु समेत गरेको अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विट मार्फत जानकारी दिएका छन् ।
अध्यक्ष थापाले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेसँगै राप्रपा अब तिव्र गतिमा संगठन निर्माणमा लाग्ने समेत बताएका छन् । उनले राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ’सम्वर्द्धनवाद’को बैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हुने दाबी गर्र्दै आगामी चुनावसम्ममा राप्रपालाई देशको अग्रणी शक्ति बनाउने दृढता समेत व्यक्त गरेका छन् । बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै आयोगलाई धन्यवाद दिने निर्णय समेत गरेको छ ।





प्रतिक्रिया