देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाबुरामसँग कांग्रेसले माग्यो बुढीगण्डकी परियोजनामा ९ अर्ब खाएको प्रमाण

देशान्तर

काठमाडाैँ – नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेतको संलग्नता रहेको भनेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

आइतबार विज्ञप्ति प्रकाशित गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे प्रमाण पेश डा. भट्टराईलाई चुनौति दिनुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि आग्रह गरेका छन्। पूर्व प्रधानमन्त्री डा. भट्टराईले हालै गोरखा पुगेर विपक्षी दल कांग्रेसका सभापति देउवासहित सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले बुढीगण्डकी आयोजनाबाट नौ अर्ब रुपैयाँ कमिसन खाएको प्रमाण आफूसँग रहेको बताएका थिए।

‘देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुनजान्छ’ प्रवक्ता शर्माले भनेका छन, ‘राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुठ र अर्थहिन आरोपले।’

कांग्रेसले बुढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउनुपर्नेमा जोड दिएको स्पष्ट पार्दै बर्तमान सरकार बनेपछि एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रकरणप्रति कांग्रेसले सार्वजनिक रूपमा निरन्तर रुपले कडा विरोध गर्दै आएको जनाएको छ।