देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोभिड-१९ ले मानवतावादी नयाँ विश्व व्यवस्थामा जान झक्झक्याएको छः प्रधानमन्त्री

देशान्तर

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताएका छन् । विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले व्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तह सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले भने, “रोक्नै नसक्ने प्राकृतिक प्रकोपप्रति सजगता राख्दै मानव गतिविधिले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्न समस्या उत्पत्तिका कारण पहिचान गरी काम गरिने छ । भूकम्पछिको पुनःनिर्माणको कामलाई सफलतापूर्वक अघि बढाएकै कारण ९० प्रतिशतमा सफलता मिलेको हो । अब हामीले बनाउने आवास, कार्यालय र सम्पदा सुरक्षित हुन भन्नेतर्फ पूर्ण सचेत हुन आवश्यक छ ।” वातावरण संरक्षण र प्रकृतिप्रति सजग एवं जिम्मेवार हुने शिक्षा विद्यालय तहदेखि नै समावेश गरिने बताउँदै प्रधानमन्त्री ओलीले सुरक्षित र सभ्य मानवजाति, सुरक्षित विश्व, बस्नलायक, न्यायपूर्ण र समृद्ध धर्ती तथा सुखी मानवजातिका लागि काम गरिने छ भने ।

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चद्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमणपछिको अवस्थाले सबैलाई मानव जाति र समाजको सम्बन्धलाई देशको सीमाभन्दा माथिबाट बुझ्न र एकअर्काको भविष्य कति अन्तरसम्बन्धित छ भन्ने सन्देशसहित सामूहिक मानवतावादी नयाँ विश्व व्यवस्थातर्फ जानुपर्ने कुरालाई झकझक्याएको बताए। प्राकृतिक विपत्तिको सामना गर्ने काममा लाग्न सम्पूर्ण तह र तप्कालाई आग्रह गर्दै उनले विपद् जोखिम न्यूनीकरण र सामना गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थासँग मिलेर काम गरिने प्रतिबद्धता व्यक्त गरे। उक्त दिवसको यस वर्षको मूल नारा ‘विपद् जोखिम न्यूनीकरणमैत्री सुशासन, सुरक्षित भविष्यका लागि हाम्रो अभियान’ छ ।