काठमाडौं – कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान् शिव र ब्रह्माजी आए पनि पाँच लाख टन मल ल्याउन सम्भव नभएको बताएका छन् । ४० औं विश्व खाद्य दिवसका अवसरमा काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको पाँच लाख टन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन सम्भव नभएको बताएका हुन् । कोलकाताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताएका छन् ।
उनले भने, ‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको पाँच लाख टन आजकै व्यवस्थाबाट शिवजी र ब्रह्माजी आए भने पनि सक्दैनन् । कलकत्ताकै पोष्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने पाँच लाख टन दिनदिनै एउटा ट्रेन कलकत्ताबाट नेपाललाई डेडिकेटेड ट्रेन हुनुपर्छ ।’ मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि औंल्याएका छन् ।
अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनबारे कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उनले बताए । उनले कृषि प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सके मात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव हुने बताए । कृषि व्यवस्थालाई परिवर्तन गर्न पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इनपुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए ।





प्रतिक्रिया