काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक सुरु भएको छ । पार्टीभित्रको विवाद मिलाउन सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अनौपचारिक बैठक सुरु भएको हो ।
पार्टी विवाद मिलाउन आजको बैठकमा अन्तिम गृहकार्य भइरहेको काँग्रेस नेता एनपी साउदले जानकारी दिए ।
विवादका विषयमा नेताहरूले गुटगत रुपमा धारणा राख्दै आएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता भएको १६ बुँदे ज्ञापनपत्रकै पक्षमा धारणा राखिरहेका छन् ।
यता संस्थापन पक्षीय नेताहरुको भने ज्ञापनपत्रमा उठाइएका विषयहरूको प्रतिवाद जारी छ ।
पौडेल पक्षले क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका विषयमा विधानविपरीत निर्णय भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको थियो ।
तर, संस्थापन पक्षले भने सबै निर्णय विधान सम्मत भएको बताएको थियो । केन्द्रीय समितिको बैठक अगावै विवाद मिलाएर केन्द्रीय समितिमा महाधिवेशनबारे छलफल गर्नुपर्ने सभापति देउवाको तयारी छ ।
पौडेल पक्षले आफूहरूले उठाउँदै आएका माग सम्बोधन नभएसम्म केन्द्रीय कार्यसमितिको बैठकमा अनुपस्थित हुने अडान लिएको छ ।





प्रतिक्रिया