देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सचिवालय बैठकमा ओली पक्ष नजाने

देशान्तर

काठमाडौं – नेकपाको आगामी सचिवालय बैठक अनिश्चित हुने देखिएको छ । बुधवारका लागि तय भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनीपक्षीय नेता सहभागी नहुने संकेत पाएपछि बैठक बस्‍ने-नबस्‍ने टुङ्गो नभएको स्रोतले बताएको छ ।

पार्टीभित्र उत्पन्‍न संकट समाधान गर्न पार्टी कमिटीको बैठक आवश्यक हुने भएपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्ष बैठक नबस्ने रणनितीमा रहेको प्रचण्ड पक्षको आरोप छ । ओली पक्षले बैठकलाई महत्व नदिएको र प्रधानमन्त्री स्वयं पनि बैठक कसरी छल्ने भन्नेमा मात्रै केन्द्रित रहेको उनीहरुको भनाई छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठकमा समेत ओली पक्ष अनुपस्थित रहेको थियो । सो बैठकमा वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्रै सहभागी थिए ।

धुम्बाराही बैठकलाई ओली पक्षले ‘प्रचण्ड–नेपालको गुटको भेला’ भन्दै अपमान गरेपछि प्रचण्डसमेत पाँचैजना नेता बालुवाटार पुगेर ४८ घण्टाभित्र पार्टी बैठक बोलाउन लिखित अनुरोध गरेका थिए । दाहाल–नेपाल पक्षको लिखित प्रस्तावलाई तोक लगाउँदै ओलीले महासचिव विष्णु पौडेललाई बैठक बोलाउन भनेका थिए ।